२०८३ असार २१, आइतवार

जबरालाई भोली फेरि बयानका लागि बोलाइने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चार वटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्याय सम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसद्को गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए । जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्व महासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिए ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्