२०८३ भदौ ९, मङ्लबार

कांग्रेसको आन्तरिक विवाद अदालत पुर्‍याउने शैलीप्रति देवराज चालिसेको आपत्ति

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वको विषय अदालत पुर्‍याउने शैलीले लोकतान्त्रिक पार्टीलाई कमजोर बनाउने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र विश्वास गुमाएपछि अदालतको शरणमा जानेभन्दा महाधिवेशनबाट नेतृत्वको टुंगो लगाउनुपर्ने बताएका हुन्।

चालिसेले कांग्रेसभित्रको पछिल्लो असन्तुष्टि नीति तथा कार्यक्रमभन्दा व्यक्तिगत राजनीतिक भविष्यसँग बढी जोडिएको दाबी गरे। विधान समयसापेक्ष नभए संशोधन गर्न सकिने भए पनि विधानलाई नै भत्काउने अभ्यास गर्न नहुने उनको भनाइ छ।

विवाद समाधानका लागि केन्द्रीय समिति विस्तार, क्रियाशील सदस्यता व्यवस्थापनमा सबै पक्षको सहभागिता र विश्वसनीय निर्वाचन समिति गठन गर्न उनले सुझाव दिएका छन्।

‘नेतृत्वप्रति असहमति छ भने महाधिवेशनमा जाऔँ, त्यहीँ विकल्प प्रस्तुत गरौँ र कार्यकर्ताको मत मागौँ,’ चालिसेले भनेका छन्। उनले अहिलेको समाधान महाधिवेशन रोक्नु नभई महाधिवेशनलाई विश्वसनीय बनाउनु रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्