२०८३ भदौ ९, मङ्लबार

राप्रपाले तीन सांसदलाई गरेको कारबाहीमाथि कमल थापाको प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने पार्टीको निर्णयमाथि प्रश्न उठाएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत गत भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको दाबी गर्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्दै प्रश्न गरेका हुन् ।

उनले बागमती प्रदेशसभा सचिवालयमा बुझाइएको पत्र ‘फेक’ नहोस् भन्दै निर्णयको वैधानिकतामाथि समेत आशंका व्यक्त गरेका छन् ।

‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु,’ थापाले भनेका छन्, ‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा फेक हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्र सोमबार बागमती प्रदेशसभा सभामुखसमक्ष बुझाइएको थियो । पत्रमा पार्टीको निर्देशन तथा ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन सांसदलाई पदमुक्त गरिएको उल्लेख छ ।

पार्टीले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई कारबाही गरेको हो ।

यसअघि भदौ ४ गते बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने निर्णय गरेको थियो । पछिल्लो कारबाहीको निर्णयलाई लिएर भने पार्टीभित्रै प्रश्न उठेको छ ।

प्रतिक्रिया लेख्नुहोस्