नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीप्रति जनविश्वास बढ्दै गएको दाबी गरेका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उनले देशभर कांग्रेसको पक्षमा माहोल सकारात्मक बन्दै गएको बताए।
आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको उल्लेख गर्दै शर्माले वर्तमान अवस्थामै कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरे। यही गतिमा जनमत वृद्धि भए एक हप्ताभित्रै पार्टी बहुमतको स्थितिमा पुग्ने उनको भनाइ छ।
‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेन-जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस हो, परिवर्तन खोज्नुभएको हो भने परिवर्तन भएको कांग्रेस नै हो,’ उनले भने।
दैनिक रूपमा अन्य दलबाट नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरिरहेको उल्लेख गर्दै उनले पार्टी पहिलाभन्दा बलियो बनेको दाबी गरे। आफू बदलिएर समाज र देश बदल्ने अभियानमा कांग्रेस अग्रसर रहेको उनको भनाइ थियो।
चितवनबाट सुरु गरिएको संगठनात्मक यात्रा पश्चिमका जिल्लासम्म पुगेर काठमाडौं फर्किएको जानकारी दिँदै शर्माले हल्लाका भरमा नभई संगठनको जरा बलियो बनाउन नेता–कार्यकर्ता एकताबद्ध भएर लागेको बताए।
विशेष महाधिवेशनपछि पार्टी रूपान्तरणको दिशामा अघि बढेको दाबी गर्दै उनले पार्टीले ६ गते जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गर्ने जानकारी दिए।







प्रतिक्रिया लेख्नुहोस्