२०८२ फाल्गुन ७, बिहिबार

कास्कीमा कैदीबन्दी र कर्मचारीले समानुपातिकमा मात्र भोट दिन पाउने

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। निर्वाचन आयोगको निर्देशनअनुसार कैदीबन्दी, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदानको अवसर सुनिश्चित गर्न यी केन्द्र निर्धारण गरिएको हो।

प्रदेश निर्वाचन कार्यालय कास्कीका प्रमुख नारायण ढकालका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। जिल्ला कारागारमा रहेका कैदीबन्दीले त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ भने जिल्ला समन्वय समिति परिसरमा राखिएको केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत हाल्न सक्नेछन्।

कार्यालयका अनुसार कास्कीमा करिब २ हजार ९ सय जना अस्थायी मतदाता रहेका छन् र उनीहरूको नामावली स्वीकृत भइसकेको छ। जिल्ला कारागारमा रहेका कैदीबन्दीको उपस्थिति शतप्रतिशत हुने अनुमान गरिएको छ। तर निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू खटिएको मतदान केन्द्रमै मतदान गर्न पाउने व्यवस्थाका कारण जिल्ला समन्वय समितिमा राखिएको अस्थायी केन्द्रमा भने सीमित उपस्थिति रहने प्रक्षेपण गरिएको छ।

अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ मात्र मत हाल्न पाउनेछन्। प्रत्यक्षतर्फका उम्मेदवारलाई भने उनीहरूले मतदान गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्