२०८३ असार ३०, मङ्लबार

डेढ महिनापछि संसद्मा उपस्थित भए प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह डेढ महिनापछि मंगलबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्।

प्रधानमन्त्री शाह यसअघि जेठ १७ गते बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए। सो बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि उनी चौतर्फी आलोचनाको केन्द्रमा परेका थिए।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय हित तथा सीमा सम्बन्धी संवेदनशील विषयमा अन्योल सिर्जना गरेको आरोप लगाउँदै संसद्मा आएर स्पष्ट पार्न र आवश्यक परे आफ्नो भनाइ सच्याउन माग गर्दै आएका छन्।

प्रधानमन्त्री शाहको लामो अन्तरालपछि भएको संसदीय उपस्थितिलाई विपक्षी दलले चासोका साथ हेरेका छन्। यद्यपि, उनले विवादित अभिव्यक्तिबारे संसद्मा कुनै स्पष्टीकरण दिएका छैनन्।

पछिल्लो समय काठमाडौंका सुकुम्बासी व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था तथा मुगुका गणेश नेपालीको आत्मदाह घटनालगायत विषयमा पनि प्रधानमन्त्री शाहको कार्यशैलीलाई लिएर सरकारको व्यापक आलोचना हुँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्