२०८३ साउन २२, शुक्रबार

केयू उपकुलपति छनोटमा हस्तक्षेप भए आन्दोलन पुनः सुरु गर्ने डा. केसीको चेतावनी

प्रा. डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया कुनै पनि राजनीतिक वा निजी स्वार्थबाट प्रभावित हुन नहुने बताएका छन् । उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु हुनुअघि उनले विज्ञप्ति जारी गर्दै निष्पक्ष र पारदर्शी छनोटको माग गरेका हुन् ।

डा. केसीले राजनीतिक दल वा निजी क्षेत्रसँग आबद्ध तथा स्वार्थ बाझिने व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा नियुक्त गरिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनका अनुसार विश्वविद्यालयको नेतृत्व योग्य, स्वतन्त्र र निष्पक्ष व्यक्तिले नै सम्हाल्नुपर्छ ।

हाल दार्चुलाको व्यास गाउँपालिका–स्थित छाङ्ग्रुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका डा. केसीले साउन ११ गते २४औँ सत्याग्रहका क्रममा सरकारसँग भएका सहमतिहरू अक्षरशः कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

उनले सरकारले माफियाको दबाबमा परेर सहमति उल्लङ्घन गरे, निजी मेडिकल कलेजमा हुने श्रम शोषण, ठगी, आर्थिक अनियमितता तथा अन्य अपराधको छानबिन र कारबाही नगरे, साथै आवासीय चिकित्सकहरूको निर्वाह भत्ता घटाए स्थगित गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उपकुलपति पदका लागि अल्पसूचीमा दयाराम पोखरेल, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुवोध शर्मा, हरिप्रसाद न्यौपाने र निरञ्जन पराजुली रहेका छन् । यद्यपि पराजुलीले अन्तर्वार्तामा सहभागी नहुने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्