राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय कब्जा गरेको दाबी गरेका छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले यसअघि समितिले माग गरेको प्रहरीको खरिदसम्बन्धी कागजात उपलब्ध भए वा नभएको जानकारी गराउन समिति सभापतिसँग माग गरे। समितिको अघिल्लो बैठकले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा भएका भनिएका अनियमिततासम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो।
सुनारले त्यसयता पनि प्रहरीले करोडौँ रुपैयाँका नयाँ ठेक्का आह्वान गरेको उल्लेख गर्दै खरिद प्रक्रिया थप शंकाको घेरामा परेको बताए। “हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीबारे कागजात मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि बीचमा प्रहरीले करोडौँको ठेक्का आह्वान गरेको छ। निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,” उनले भने।
यसअघि समितिमा आफूले उठाएको प्रश्नमा अडिग रहेको बताउँदै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको ठानेमा कानुनी बाटो अपनाउन चुनौती दिए। “कहीँकतै कसैलाई मेरो अभिव्यक्तिले मानमर्दन भयो भन्ने लाग्छ भने अदालत गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिन म तयार छु,” उनले भने।
सुनारले समितिको बैठकमा सांसदहरूबीच हुने व्यवहारप्रति पनि आपत्ति जनाए। कुनै विषय नियमावलीविपरीत भएमा सभापतिले तत्काल निर्णय गर्नुपर्ने भए पनि एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने उनको भनाइ थियो।
जनताबाट निर्वाचित प्रत्येक सांसदलाई समितिमा प्रश्न उठाउने पूर्ण अधिकार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारजस्ता विषयमा सतही प्रश्न गरेर वास्तविकता बाहिर नआउने बताए। “भ्रष्टाचारको गहिराइमा पुग्न प्रश्न पनि निर्मम, गम्भीर र गहिरो हुनुपर्छ,” उनको भनाइ थियो।
समितिमा रहँदासम्म भ्रष्टाचार तथा सार्वजनिक खरिद प्रक्रियासम्बन्धी विषयमा आफूले निरन्तर कडा प्रश्न उठाइरहने पनि उनले बताए।







प्रतिक्रिया लेख्नुहोस्