२०८३ भदौ ६, शनिबार

बालेन नेतृत्वको सरकार कुनै हालतमा पाँच वर्ष नटिक्ने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार पाँच वर्षसम्म नटिक्ने दाबी गरेका छन्।

नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले ‘अराजकताबाट आएका’ शक्तिलाई देशको जिम्मेवारी दिन नसकिने बताएका हुन्। उनले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टीपंक्तिलाई आगामी राजनीतिक परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।

ओलीले लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको आरोप लगाउँदै त्यसलाई पुनः स्थापित गर्नुपर्ने बताए। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्नसमेत नागरिकहरू डराउनुपर्ने अवस्था सिर्जना भएको उनको दाबी थियो। ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ। हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त, कति गाली आउँछ, त्रास छ। सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ,’ ओलीले भने।

उनले आफूहरू दरबार हटाएर गणतन्त्र स्थापना गर्ने शक्तिका रूपमा रहेको उल्लेख गर्दै वर्तमान सरकार वा त्यसलाई समर्थन गर्ने कुनै शक्तिसँग नडराउने बताए। ‘यो सरकार, तपाईंहरूलाई भनिदिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन,’ ओलीले भने।

उनले निर्वाचनबाट बहुमत प्राप्त भएको भन्दैमा सरकारले पाँच वर्षसम्म मनपरी गर्न नपाउने टिप्पणी गरे। सरकार गठनको प्रक्रियामाथि प्रश्न उठाउँदै ओलीले जनतालाई डर, त्रास र दबाबमा राखेर शासन गर्न खोजिएको आरोपसमेत लगाए।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेर बहुमत दिएकोप्रति जनतामा पश्चात्ताप सुरु भइसकेको दाबी गरे। उनले सरकारविरुद्ध जनता आफैं आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै एमालेका जनसङ्गठन तथा पार्टीपंक्तिलाई त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।

उनको अभिव्यक्तिले वर्तमान सरकार र प्रमुख प्रतिपक्षी एमालेबीचको राजनीतिक दूरी थप बढेको संकेत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्