प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकको मुख्य आकर्षण प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहनेछ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालको रुलिङपछि प्रधानमन्त्री शाह पहिलोपटक प्रतिनिधिसभामा सांसदका प्रत्यक्ष प्रश्नको जवाफ दिन लागेका हुन्।
आजको प्रश्नोत्तर कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका गरी ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंह, नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना ले प्रश्न सोध्नेछन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओली ले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२’ पनि पेस गर्ने कार्यसूची छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्मा पेस गर्नेछन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम लामो समयदेखि नियमित रूपमा सञ्चालन हुन नसकेको अवस्थामा आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ। सांसदका प्रश्नमा प्रधानमन्त्री शाहले दिने जवाफले सरकारको नीति, प्राथमिकता र आगामी कार्यदिशाबारे संसद्मा महत्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया लेख्नुहोस्