एक्सन स्टार निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा निखिल उप्रेती र सजिना श्रेष्ठलाई फिचर्ड गरिएको छ।
एक्सन भूमिकामा बढी देखिँदै आएका निखिललाई यसपटक भने प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ। गीतमा निखिल र सजिनाबीचको रोमान्टिक सम्बन्धलाई देखाइएको छ। यसले फिल्ममा एक्सनसँगै प्रेमकथाको पाटोलाई पनि प्राथमिकता दिइएको संकेत गर्छ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा गौराङ्गा शेखर शर्मा र ज्योत्स्ना जौडाले स्वर दिएका छन्। गीत सार्वजनिक भएसँगै निखिलको फरक अवतारलाई लिएर दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ।
फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी तथा पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका छन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहको रहेको छ। बन्दे प्रसादले सम्पादन गरिरहेको फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै रहेको छ।
‘आचार्य’ आगामी असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्