२०८३ अशोज १५, बिहिबार

चाडपर्वमा सवारी दर्ताको चाप बढ्यो, समस्या समाधान गर्न नाडाले प्रशासनसँग छलफल

चाडपर्व नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्ताको चाप बढेपछि नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले सेवा प्रवाहमा देखिएका समस्या समाधानका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ।

नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज १४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ताका क्रममा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिले भोगिरहेका समस्याबारे छलफल गरेको हो। नाडाका महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै जाँदा सवारी दर्तासम्बन्धी कामको चाप बढेको तर यातायात कार्यालयमा उपलब्ध जनशक्ति सीमित भएकाले काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको जानकारी गराएका थिए।

सवारी बिक्री गर्ने कम्पनीका प्रतिनिधिले आफ्नोतर्फबाट आवश्यक कागजात पेस गरी दर्ता प्रक्रियामा सहजीकरण गरे पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीमाथिको कार्यचापका कारण दर्ता प्रक्रिया अपेक्षाकृत लामो हुने गरेको नाडाको भनाइ छ। यसले चाडपर्वको समयमा नयाँ सवारी साधन खरिद गर्ने सेवाग्राहीले दर्ता प्रक्रियाका लागि थप समय कुर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै नाडाले तत्काल आवश्यक समन्वय र सहजीकरणका लागि प्रशासनसँग आग्रह गरेको हो।

छलफलका क्रममा नाडाका सचिव तथा टू–ह्वीलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाका प्रतिनिधिले भेट गरी सवारी दर्तामा देखिएका समस्या समाधानबारे छलफल गरिसकेको जानकारी दिएका थिए। नाडाले सवारी दर्ता प्रक्रियालाई सहज र छिटो बनाउन सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको जनाएको छ।

जवाफमा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारी दर्तासँग सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग छलफल तथा आवश्यक समन्वय गर्ने बताएका थिए। भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टू–ह्वीलर समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्