करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा गरिएको छ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्।
नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ राशिको १५ दिने बम्पर उपहार प्राप्त गरेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले कानुलाई तत्काल फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।
जसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार रहेका थिए। त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य रहेको मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्