२०८३ कार्तिक ११, मङ्लबार

तिहारमा ५२ लाख फूलका माला खपत हुने अनुमान, कारोबार ४८ करोड पुग्ने

तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा फूलका मालाको कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।

एसोसिएसनले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत तिहारमा सयपत्री, मखमली, गोदावरी र मिश्रित फूलका गरी करिब ५२ लाख माला खपत हुने अनुमान सार्वजनिक गरेको हो। एसोसिएसनका अनुसार यस वर्ष तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला खपत हुने अनुमान छ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस वर्ष तिहारमा फूल तथा मालाको माग स्वदेशी उत्पादनबाटै धान्न सकिने दाबी गरेका छन्। उनका अनुसार अनुमानित ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति हुने अपेक्षा गरिएको छ।

फूलको प्रकारअनुसार सयपत्रीका ४५ लाख मालाबाट करिब ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। त्यस्तै, मखमलीका ६ लाख मालाबाट २ करोड ७० लाख, गोदावरीका २० हजार मालाबाट २ करोड ४० लाख र मिश्रित फूलका ६० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।

यसैबीच, फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीमा सेल्फी स्टलसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहनेछन्। प्रदर्शनीमा ४५० प्रजातिका फूल तथा बिरुवा राखिनेछ।

आयोजकले प्रदर्शनीमा करिब ३९ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ। प्रदर्शनीले नेपाली फूलको उत्पादन, व्यावसायिक खेती तथा बजारीकरण प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्