२०८३ कार्तिक ११, मङ्लबार

आनी छोइङ डोल्माको नियुक्तिमा प्रश्न उठाउनेलाई नतर्साउन कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिप्रति आपत्ति जनाएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले नियुक्तिबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकार नागरिकमाथि धरपकडमा उत्रिएको भन्दै विरोध जनाएका हुन्।

पौडेलले लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने बताएका छन्। सरकारी नियुक्तिमा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमार्फत विवादास्पद नियुक्तिबारे उठेका प्रश्न सम्बोधन गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि मध्यरातमा धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन्।

‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड१ त्यो पनि मध्यरातमै१’ पौडेलले भनेका छन्।

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएकाले यसको नेतृत्व चयनमा विशेष संवेदनशीलता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

पौडेलले आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको भन्दै सरकारले ती प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्। उनका अनुसार प्रश्नहरूको उचित सम्बोधनबिना नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न कठिन हुन्छ।

‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ,’ पौडेलले भनेका छन्, ‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन।’

उनले विवादित नियुक्तिबारे उठेका प्रश्नको सम्बोधन गर्न र निर्णयमा आवश्यक सुधार गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्