२०८३ कार्तिक ११, मङ्लबार

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको छ ।

मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको हो । भेटमा साइप्रसका विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र अध्ययनका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र उपलब्ध गराउने र विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताएका थिए ।

राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्