२०८१ फाल्गुन ३०, शुक्रबार

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज रकम उठाउन लागेको हो।

राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी चैत्र ३ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ। निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

प्रतिक्रिया लेख्नुहोस्