उद्योगी तथा व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। यसअघि सर्वोच्च अदालतको आदेशअनुसार पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका गोल्छालाई गत वैशाख २२ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालत परिसरबाट बाहिरिने क्रममा नै बीमासम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा समूहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि गत वैशाख १० गते पहिलो पटक पक्राउ गरिएको थियो।
गोल्छाविरुद्ध बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पछिल्लो आदेशसँगै उनी एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।







प्रतिक्रिया लेख्नुहोस्