नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमध्ये एक १८औँ नाडा अटो शो २०२६ आज मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा २१५ भन्दा बढी स्टल निर्माण गरिएको छ। मंगलबार बिहान साढे १० बजे सुरु हुने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस वर्ष प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप फराकिलो, व्यवस्थित र अवलोकनकर्तामैत्री बनाइएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती, वातानुकूलन र पंखाको व्यवस्था गरिएको छ। प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, बैंक तथा वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल–मेड फर नेपाल’ र अन्तर्राष्ट्रिय व्यापारिक प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
यस वर्षको अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको नाडाले जनाएको छ। अवलोकनकर्ताले नयाँ सवारीसाधनसँगै वित्तीय सुविधा, बीमा, बिक्रीपछिको सेवा तथा पार्टपुर्जासम्बन्धी जानकारी एउटै स्थानमा प्राप्त गर्नेछन्। यसले सवारी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न ब्रान्डका मूल्य, सुविधा र वित्तीय योजनाको तुलना गर्न सहज हुने अपेक्षा गरिएको छ।
नाडाले अग्रिम टिकट बुकिङको समेत व्यवस्था गरेको छ। खल्ती एप तथा आधिकारिक क्यूआर कोडमार्फत टिकट काट्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ।
अवलोकनकर्ताको सवारी पार्किङका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा व्यवस्था गरिएको छ। प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापनका लागि सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइने नाडाले जनाएको छ।
नाडा अटो शो केवल नयाँ गाडी र मोटरसाइकल प्रदर्शन गर्ने मञ्चमा सीमित छैन। नेपालको अटोमोबाइल बजारसँग जोडिएको सवारी बिक्री, बैंक तथा वित्तीय सेवा, बीमा, पार्टपुर्जा, मर्मत तथा बिक्रीपछिको सेवा समेत एउटै आर्थिक संरचनाको हिस्सा हुन्। त्यसैले यस वर्षको अटो शोमा नयाँ सवारी सार्वजनिक हुनुका साथै उपभोक्ताको रोजाइ, विद्युतीय सवारीको बढ्दो प्रभाव र स्वदेशी अटोमोबाइल उत्पादनको सम्भावनाले पनि विशेष चासो पाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया लेख्नुहोस्