२०८३ भदौ २३, मङ्लबार

बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याटद्वारा नि:शुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार सेवा अवरुद्ध भएका क्षेत्रमा एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई सघाउन र आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क कायम राख्न कम्पनीले युटेलस्याटको ‘लो अर्थ अर्बिट’ प्रविधि प्रयोगमा ल्याएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सम्बन्धित सरकारी निकायहरूबाट आवश्यक स्वीकृति लिएर एनसेलले यो सेवा सञ्चालन गरेको हो। स्याटलाइटबाट प्राप्त सिग्नललाई जमिनमा जडान गरिएका विशेष उपकरणमार्फत वाईफाईका रूपमा विस्तार गरी उच्च-गति र लो-लेटेन्सी इन्टरनेट उपलब्ध गराइन्छ। यसबाट बाढी प्रभावित सर्वसाधारण, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन उद्धारस्थलमा खटिएका टोलीहरूले नि:शुल्क इन्टरनेट, सन्देश आदानप्रदान तथा अनलाइन कल गर्न सक्नेछन्।

हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा यो प्रविधि जडान भइसकेको र अन्य प्रभावित क्षेत्रहरूमा पनि जडान कार्य तीव्र पारिएको छ। एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठका अनुसार सडक र सञ्चार पूर्वाधार गम्भीर रूपमा बिग्रिएको अवस्थामा स्थापित यस स्याटलाइट सम्पर्कले उद्धार कार्य र स्थानीयवासीको सञ्चार आवश्यकतालाई ठूलो राहत पुर्‍याएको छ।

यसअघि नै एनसेलले बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक नि:शुल्क भ्वाइस, डाटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ। साथै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग समेत हस्तान्तरण गरिसकेको छ।

आपत्कालीन समयमा कनेक्टिभिटी नै सबैभन्दा ठूलो लाइफलाइन हुने भन्दै कम्पनीले अवरुद्ध क्षेत्रहरूमा हरेक सम्भव उपायबाट सञ्चार सेवा सुचारु राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्