प्रधानमन्त्री राहत कोषमा जम्मा हुने रकम बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ। त्यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको छ।
यसअघि प्रधानमन्त्री राहत कोषबाट बाढी प्रभावित क्षेत्रको राहत तथा व्यवस्थापनका लागि १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई निकासा भइसकेको छ।
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि खर्च हुँदै गए पनि कोषमा थप आर्थिक सहयोग जम्मा हुने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।






प्रतिक्रिया लेख्नुहोस्