२०८३ जेष्ठ ४, सोमवार

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापकका अनुसार अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।

व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।

नेपाली कांग्रेस दाङका नेताले दाजुभाइ-दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्