२०८३ बैशाख १८, शुक्रबार

देशभर ८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् ।

यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७ सय ६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १ सय ९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७ सय ५३ मात्रा खोप लगाइएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३ सय ४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय १० जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्