२०८३ जेष्ठ ५, मङ्लबार

प्रचण्डले राजनीतिक पेश गरेको प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह गठन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह गठन गरिएको छ । उक्त प्रतिवेदनमाथि भोलि छलफल हुनेछ । समूह लिडरलाई प्रतिवेदन वितरण गरिएको प्रवक्ताले जानकारी दिएका छन् ।

बन्द सत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं वैचारिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको छ । अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्