निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ। आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं. १ मा परेको छ। यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन्।
दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा परेको छ। यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन्। मोरङ निर्वाचन क्षेत्र नं. ३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं. ३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ। तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ। यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ। चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५ र काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा परेको छ।
यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन्। आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन्। उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं७ मा २४ जना पुरुष र ५ जना महिला छन्। पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं।२ मा परेको छ। यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन्।
छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं।२ मा परेको छ। यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं. १, मोरङ निर्वाचन क्षेत्र नं. ३, धनुषा निर्वाचन क्षेत्र नं. ३, काठमाडौं निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं. २, धनुषा निर्वाचन क्षेत्र नं. ४, काठमाडौं निर्वाचन क्षेत्र नं. ५, काठमाडौं निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्