नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकलाई राहतस्वरूप १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट १ हजार २५० थान एलपी ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै संघले दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ।
त्यस्तै, संघले बाढीमा घाइते भएकाहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।
विपद्का कारण प्रभावित नागरिकको दैनिकीमा कठिनाइ उत्पन्न भएको भन्दै संघले तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सहयोग गर्न लागेको जनाएको हो। संघले विपद्को समयमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय र मानवीय संस्थाहरू राहत तथा उद्धार कार्यमा जुटिरहेको उल्लेख गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षलाई अपिलसमेत गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्