कप्तान सन्दीप लामिछानेको घातक बलिङ र अन्य बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि अर्जुन कुमालले ३६ रन बनाए भने रोहित पौडेल १९ रनमा अविजित रहे।
बहराइनका इमरान जावेदले नेपालका दुई विकेट लिए। नेपालको अर्को एक विकेट रनआउटका रूपमा गुमेको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनलाई नेपाली बलरहरूले ३६।२ ओभरमै ८७ रनमा अलआउट गरेका थिए। कप्तान सन्दीप लामिछानेले १० ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए।
ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन ठूलो स्कोर बनाउन असफल भयो। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे।
१४औँ ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमै विकेट लिए। त्यसै ओभरको चौथो बलमा अर्को विकेट लिएका उनले पाँचौँ ओभरमा थप एक तथा सातौँ र आठौँ ओभरमा एक–एक विकेट लिएर आफ्नो पाँच विकेट पूरा गरे।
यस जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।







प्रतिक्रिया लेख्नुहोस्