२०८३ बैशाख १५, मङ्लबार

प्रधानन्यायाधीश जबराविरुद्ध उपत्यकाका सबै बारका अधिवक्ता सर्वोच्चमा भेला

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रदर्शन गर्न सोमबार काठमाडौं उपत्यकाका सबै अदालतस्थित नेपाल बार एसोसिएसनका अधिवक्ता सर्वोच्च अदालतमा भेला भएका छन्।

यसअघि नेपाल बार एसोसिएनको केन्द्रीय समितिले मात्र सर्वोच्च अदालतमा धर्ना दिँदै आएको थियो। आज उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अदालत, उच्च अदालत पाटन र विशेष अदालतस्थित बार एकाइका अधिवक्ताले बार केन्द्रीय समितिले गरेको आन्दोलनलाई साथ दिएका हुन्।

यसैबीच सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। प्रहरीले लाठी चार्ज गर्दा केही कानुन व्यवसायी घाइते भएका छन्। नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरुलाई प्रहरीले रोक्‍न खोज्दा घम्साघम्सी भएको थियो।

प्रहरीसँग केहीबेर घम्साघम्सी भएपछि वकिलहरु अदालतको मुख्य गेटमा धर्ना दिन पुगेका छन्। अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ। सर्वोच्चमा काठमाडौंका वकिलहरुले पनि धर्ना दिने भएपछि प्रहरीको उपस्थिति बढाइएको जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्