२०८१ बैशाख ६, बिहिबार

एकता-संघर्ष-रुपान्तरण, मुख्यत: रुपान्तरण र नयाँ आधारमा नयाँ एकताको कार्यभारबारे

रुसमा मुख्यत: बोल्सेभिक र मेन्सेभिक समूह थिए। चीनमा आपसी मारामार गरे, तर पार्टी फुटाएनन्। जब ख्रूश्चेवले प्रतिक्रान्तिकारी लाईन लिए, माओले त्यसको जोड्दार खण्डन गरे। तब विश्व कम्युनिस्ट आन्दोलन फुटतर्फ मोडियो। नेपालमा, सुरुमा पुँजीवादी वीपी कोइराला र त्यसैको सिको गर्दै सामन्ती राजा महेन्द्रको षडयन्त्रमा कम्युनिस्ट पार्टी दर्जनौ समुहमा विभाजित बन्यो। २०२५ मा संस्थापक पुष्पलाल श्रेष्ठले “नेपाल कम्युनिस्ट पार्टी” पुनर्गठन गरे। तर, मोहनविक्रम सिंह तथा मनमोहन अधिकारीको कोशी प्रान्तीयवाला झापालीले पुष्पलालको नेतृत्व अस्वीकार गर्दा कम्युनिस्ट आन्दोलन विभाजित रह्यो। ती दुवै समुहले, संयुक्त जनआन्दोलनको विचार ल्याए वापत पुष्पलाललाई आजीवन “गद्दार” भनिरहे। यध्यपि, गद्दार पुष्टि गर्ने ल्याकत ती दुवैमा देखिएन।

झापाली गुट जनपक्षीय उमेदवार भन्दै दलाल पुँजीवादी संसदवादमा हामफाल्यो भने २०३१ मा चौथो महाधिवेशन गरेर बनेको नेकपा (चौम) बाट विकसित भक्तवहादुर श्रेष्ठ, मोहन बैध्य, प्रचण्ड, बादल, पोष्टवहादुर बोगटीहरुले मोटो मशाल खडा गर्दै सशस्त्र जनयुद्वको वैचारिक-राजनीतिक आधार स्थापित गरे। २०४७ मा नेकपा (एकता केन्द्र) बन्यो, जसमा मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, बाबुराम भट्टराईवाला विद्रोही मसाल र रुपलाल विश्वकर्मावाला सर्वहारा श्रमिक संगठन सामेल रहे। संयुक्त जनमोर्चाको नामबाट निर्वाचनमा भाग लिएको एकता केन्द्रले २०४८ मा ९ जना सांसद जित्यो। संसदवादको भण्डाफोर गर्दै जनयुद्वको भौतिक तयारी क्रममा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोख्रेल तथा आहुति (विश्वभक्त दुलाल) हरु जनयुद्वको विपक्षमा खडा भए र चौम समुह पुनर्गठनमा लागे। तर, जनयुद्व पक्षधर प्रचण्ड, बैध्य, बादल, बाबुराम, पोष्टवहादुर, रामबृक्ष यादवहरु नेकपा (माओवादी) पुनर्गठन गर्दै जन्युद्वमा होमिए। अन्तिम तयारीको क्रममा कांग्रेसीहरुद्वारा रामबृक्ष यादवको निर्मम हत्या गरियो।

विद्वितै छ, २०५२ देखि नेकपा (माओवादी) नेतृत्वमा महान जनयुद्व अघि बढ्यो। जसले, एकात्मक सामन्ती राजतन्त्र खारेज गरि सिद्वान्तत: संघीय पुँजीवादी गणतन्त्र स्थापना गर्यो। सर्वहारा श्रमिकवर्गको नेतृत्वमा राज्यसत्ता हस्तान्तरण नभए पनि राजतन्त्रको सट्टा गणतन्त्र एक कदम प्रगतिशील उपलब्धी अवश्य हो। अब पुँजीवादी गणतन्त्रलाई हठात समाजवादी लोकतन्त्रमा बदल्नु नेपाली क्रान्तिको राजनीतिक कार्यभार बन्न आएको छ।

जब प्रथम संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान निर्माण कार्यमा माओवादीभित्रको वाम विसर्जनवाद तथा कांग्रेस-एमाले जस्ता दक्षिणपन्थीहरुबीच मोर्चाबन्दी हुन पुग्यो, बिना संविधान प्रथम संविधानसभा विघटन भयो। लगत्तै क्रान्ति गरिहाल्ने भन्दै बैध्य र विप्लबको वाम विसर्जनवादले माओवादी विभाजन गर्यो। बैध्यबाट पनि विप्लब विभाजित भए। परिणाम, संसदीय सुविधा भोगका लागि माओवादी केन्द्रमा एकताबद्व भएका बादलहरु खड्गप्रसाद ओलीको चरणमा पुगेका छन्। मालेबाट एमाले बनेका बामदेव, अशोक राई, सीपी मैनालीहरु महाकालीमा राष्ट्रघात भन्दै २०५४ मा विभाजित भए। बामदेवहरु एमालेमा फर्किए भने अशोक राई जनता समाजवादी पार्टीमा छन्। सीपी मैनाली मालेमै छन्। सीपीबाट विभाजित ऋषि कट्टेल नेकपा थामेर बसेका छन्।

दक्षिणपन्थी विसर्जनवादको “विलय काण्ड” रचेर नेकपा डबलमा पुगेका प्रचन्डहरु उछिट्टिएर पुन: माओवादी केन्द्र बोक्न अभिशप्त छन्। सर्वोच्च अदालतको फैसलाले नेकपा डबल तीन टुक्रा बन्न पुग्यो। ओली एमाले, जसतर्फ पूर्व माओवादीका बादलहरु अल्झिएका छन् भने पूर्व माओवादीका बाँकी रहेकाहरु माओवादी केन्द्रको तन्द्रामा छन्। उता पूर्व एमालेका माधव नेपालहरु एकीकृत समाजवादी भन्दैछन्। संविधान जारी हुँदा नहुँदै माओवादी त्यागेर नयाँ शक्ति भन्दै भौंतारिएका बाबुराम भट्टराई जनता समाजवादी पार्टीमा उपेन्द्र यादवसँग निहुँ खोज्न पुगेका छन्।

यता हामीले भने पार्टी पुनर्गठनको बाध्यात्मक झण्डा उठायौं। प्रचन्डहरु एमालेतर्फ विलयमा हामफाल्न गएपछि माओवादी आन्दोलनको विचार, भावना र विरासत रक्षार्थ नेकपा माओवादी केन्द्र पुनर्गठनमा लाग्यौं। तर, सर्वोच्च अदालतको अन्यायपूर्ण फैसलाले माओवादी केन्द्र प्रचन्डहरुलाई बोकाईदिएपछि नयाँ नामाकरण गर्न बाध्य भयौं र “माओवादी कम्युनिस्ट पार्टी, नेपाल” निर्धारण गर्यौं। यसबीच पार्टी पुनर्गठनको उपलब्धी विशिष्ट विचार निर्माणमा भने हामीले आधारभूत सफलता हासिल गरेका छौं।
जनमत संग्रहको नारामा विप्लबजी सार्वजानिक भएपछि उहाँको समुहबाट दर्जन उप-समुह बन्न पुगेका छन्। त्यसमध्ये पछिल्लो समय सुदर्शन र कन्चन नेतृत्वको विद्रोह निर्णायक देखिन्छ। हिजोको निर्वाचन बहिस्कार र खारेजीको राजनीतिक औचित्य पुष्टि नगरेसम्म दलाल पुँजीवादी निर्वाचनमा भाग लिनु हुँदैन, भन्ने सुदर्शन र कन्चनको अडान स्वत: क्रान्तिकारी छ। केन्द्रीय समिति निर्णयको दाम्लो चुँडाएर विप्लब र प्रकान्डहरु निर्वाचनमा हामफाल्छन् नै भने क. सुदर्शन र क. कन्चन नेतृत्वको विद्रोहात्मक कदम श्रेयस्कर ठहर्ने छ। जससंग दीर्घकालीन संयुक्तमोर्चाको स्वरुपमा क्रान्तिलाई अग्रगति दिन माओवादी कम्युनिस्ट पार्टी, नेपाल स्वत: अग्रसर रहन्छ।

सुदृढ कम्युनिस्ट आन्दोलनका आधारहरु

माओ त्सेतुङ अनुसार एकता-संघर्ष-रुपान्तरण, मुख्यत: रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सुदृढ कम्युनिस्ट पार्टी निर्माणको क्रान्तिकारी विधि हो। जसका निम्ति निम्न तथ्यमा ध्यान केन्द्रीकरण जरुरी छ।

१. विकास नगरे मार्क्सवादको प्रयोग सम्भव छैन, भन्ने मान्यता र मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा क्रान्तिको नेपाली किसिम विकासमा जोड,
२. पुष्पलाल श्रेष्ठका विचारहरु र महान जनयुद्वका विचारहरुको गहकिलो अध्ययन तथा नयाँ संश्लेषण,
३. नेपालमा समाजवादी क्रान्ति सम्पन्न गरिछाड्ने सामुहिक संकल्प र नेतृत्व डप्फाको सर्वहारा चरित्र निर्धारण र
४. तत्काल एकीकृत पार्टी बन्न नसके अफ्रीकी राष्ट्रीय कांग्रेसको ढाँचामा हाम्रा विभिन्न पार्टीहरु घटक रहनेगरी पार्टी संगठनहरुको समाजवादी महासंघ निर्माण। जसमा, पार्टीहरु वैचारिक समुहको भूमिकामा रहन्छन् भने दीर्घकालीन संयुक्तमोर्चाको स्वरुपमा गठित महासंघले आन्दोलन निर्वाचन, सरकार, संविधान पुनर्लेखन एवं समाजवादी लोकतन्त्र स्थापनाको नेतृत्व गरियोस्।

प्रतिक्रिया लेख्नुहोस्