नायिका-भिक्षु विवाद प्रकरणमा पराजित सिपाही झैं हिजो पहिचान मुद्दामा समर्थन गरेकोप्रति “पश्चाताप” गर्ने लेखक उपेन्द्र सुब्बाको प्रतिगामी अभिव्यक्तिले चिन्तित तुल्याएको छ। जसै उहाँको नाममा यो पत्र प्रेषण गर्दछु। “लाटो पहाड” को बाठो लिम्बूले यसरी हार खाएको देख्दा निश्चय नै सत्राजीत लिम्बूको शीर झुकेको हुनुपर्छ, जुन अत्यन्त दु:खद कुरा हो। अत: शीर झुकेका र झुक्न लागेका सबैको माङ्गेना खातिर यो पत्र लेखिएको हो, भनी सुरुमै निवेदन गर्दछु।
१. सामन्तवाद विरोधी आन्दोलनको विकासक्रममा सर्वप्रथम यूरोपमा राष्ट्र राज्यको अवधारणा देखा पर्यो, जसले प्रगतिशील पुँजीवादी आन्दोलनलाई भरमग्दुर संस्थागत गर्यो। तर, प्रगतिशील चरित्र त्यागेर पुँजीवाद जब प्रतिकृयावादी चरित्रमा पतन भयो, त्यस संगसंगै त्यसले (पुँजीवादले) श्रमिकवर्ग र बन्धु जातिहरुमाथि एकसाथ उत्पीडन सुरु गर्यो। त्यसैको परिणाम, यूरोपेली साम्राज्यवादको विश्वव्यापी आक्रमण थियो। भनिरहनु पर्दैन, पहिलो र दोस्रो विश्वयुद्व प्रतिकृयावादी पुँजीवादकै दुस्परिणाम थियो, जसले करोडौंको ज्यान लियो। (जसमा, बिना कारण लाखौं नेपाली युवाहरु भाडाको सिपाही बन्न बाध्य पारिए।) अहिले तेस्रो विश्वयुद्वको आधार-चर्चामा रहेको युक्रेन युद्व वस्तुत: साम्राज्यवादी अमेरिकाको स्वार्थमा थोपरिएको अन्यायपूर्ण युद्व हो।
२. सन १८४८ मा जारी कम्युनिस्ट पार्टीको घोषणापत्र, जुन कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लेखिएको थियो, त्यही प्रतिकृयावादी पुँजीवाद विरुद्वको एक सार्वभौम विज्ञान तथा महान युगान्तकारी दस्तावेज हो। जसले, सर्वहारावर्गको मुद्दालाई प्राथमिकता दिनु एकदम सही थियो। किनभने, ऐतिहासिक सच्चाईको ठोस अभिव्यक्ति र त्यस बखतको यूरोपमा मजदुर वर्गीय समस्या वस्तुत: प्रधान थियो। साथसाथै, कम्युनिस्ट घोषणापत्र पढ्न सकिन्छ, त्यसमा वर्ग संगसंगै जातीय मुक्तिको मार्गनिर्देशन प्रष्ट छ।
मार्क्सवादी इतिहास पढ्नु भयो भने बेलायती साम्राज्यद्वारा उत्पीडित आइरिश जातिको आन्दोलनलाई राष्ट्रीय स्वतन्त्रताको आन्दोलन हो, भनेर संश्लेषण गर्ने पहिलो विचारक कार्ल मार्क्स हुन। त्यसैबाट शिक्षा लिएर लेनिन-स्टालिन नेतृत्वमा महान राष्ट्रीय मुक्ति आन्दोलन उद्घोष गरियो। दोस्रो विश्वयुद्व हुँदै माओ त्सेतुङसम्म आउँदा यस दुनियाँका दर्जनौं उत्पीडित राष्ट्रहरु स्वतन्त्र बन्न सफल भए।
३. सुगौली सन्धियता नेपाल बाह्य साम्राज्यवाद तथा विस्तारवादद्वारा उत्पीडित रहँदै आएको छ भने आन्तरिक रुपमा गोर्खाली अन्धराष्ट्रवादको उत्पीडनद्वारा दलित, आदिवासी जनजाति, मधेसी-मुस्लिम र खसानका खस जनता चरम राजनीतिक, आर्थिक, साँस्कृतिक उत्पीडनमा छन। अत: हाम्रै पुस्ताले आन्तरिक राष्ट्रीयता व्यवस्थापनको सशस्त्र आन्दोलन नै लडिएको इतिहासलाई बिर्सन मिल्दैन। जसलाई, हामीले जातीय मुक्ति आन्दोलन भनेका थियौं। जसको माग संघीय नेपालमा स्वायत्त गणराज्य स्थापनाको थियो।
तर, मधेशमा उठेको आन्दोलनलाई “पहिचान आन्दोलन” भनियो। क्रमश: त्यो पदावली संविधानसभाको राज्य पुन:संरचना समितिले ग्रहण गर्यो र जातीय मुक्तिको सवाललाई “पहिचान आन्दोलन” भन्न थालियो। जसले, सच्चा मार्क्सवादी कोणबाट हेर्दा सम्पूर्ण साझेदारीको स्वाधीन र समृद्व नेपालको सुन्दर माग गर्दछ।
४. महान जनयुद्व र जनआन्दोलन सहितको पहिचान आन्दोलनले नेपाली समाजको हरेक तह र तप्कालाई सर्वत्र जागरुक तुल्याएको छ। यासोकको लिम्बूले लेखेको थकाली गाउँको कथामा दयाहाङ राई चर्चित नायक बन्न पुग्नुमा (ऐतिहासिक आयामको दृष्टिले) हाम्रो पुस्ताले लडेको राजनीतिक आन्दोलनको दह्रो पृष्ठभूमि छ। अन्यथा चिम्से आँखा, थेप्चो नाक र होचो कदवाला नायक-नायिकाको चलचित्र नेपाली समाजमा एकादेशको कल्पना बाहेक सम्भव नै थिएन, भन्न पाउने जिम्मेवार पुस्ताका कार्यकर्ता हौं, भनेर हामीले गर्व गर्नै पर्छ। परन्तु, अवसरवादी नेतृत्वका कारण राजनीतिक आन्दोलनको क्रान्तिकारी व्यवस्थापन गर्न सकिएन। परिणाम, समाजको जागरणले सही दिशा ग्रहण गर्न सकिरहेको छैन र नै नायिका र भिक्षु विवाद आवश्यकता भन्दा बढी उछालिन्छन।
फेरि पनि देश, जनता र आफ्नो वर्गप्रति ईमान्दार जनयुद्वका हामी मुट्ठीभर कार्यकर्ताहरु भने लगातार सत्प्रयासमा छौं। र, नेपाली समाजको क्रान्तिकारी व्यवस्थापन गरिछाड्ने संकल्पको कार्यदिशामा दृढतापूर्वक अग्रसर पनि छौं।
५. तपाईं (उपेन्द्र सुब्बा) जस्तो गीतकार, कवि अनि लेखकलाई (रुपचन्द्र विष्टको) “थाहा” हुनैपर्छ, जुन कुरा सामान्य गणितको नियमभित्रै पर्दछ कि खण्डीकरण र समीकरण, विश्लेषण र संश्लेषण, विकेन्द्रीकरण र केन्द्रीकरण निरन्तर चलिरहने पदार्थको गति अथवा सामाजिक प्रकृया हो।
अत: पहिचान आन्दोलन अहिले खण्डीकरण, विश्लेषण र विकेन्द्रीकरणको स्थितिमा छ। यो नकारात्मक “स्थिति” उत्कर्षमा पुग्न जरुरी छ र पुग्ने नै छ। त्यसपछि स्वत: समीकरण, केन्द्रीकरण तथा सँश्लेषणको धरतीमा ओर्लने हुन्छ। र, बल्ल तपाई-हामीले सुखको श्वास फेर्न सकिने दुनियाँ निर्माण सम्भव हुनेछ।
सच्चा मार्क्सवादीहरुका लागि पहिचान आन्दोलन नेपाली क्रान्तिको अभिन्न अंग हो भने उत्पीडित समुदायका लागि सम्पूर्ण भविश्य। क्रान्तिको अंग भंग गर्ने तथा उत्पीडित समुदायका जनताको भविश्य विलखबन्दमा पार्ने छुट तपाईं जस्ता प्राज्ञिक मित्रहरुलाई छैन, भनेर यहाँ प्रष्ट गर्दछु। अँ व्यक्तिगत रुपमा तपाईलाई पहिचान मुद्दा अस्वीकार्य लाग्न सक्छ, त्यो तपाईको स्वतन्त्रता हो। त्यसमा भन्नु केही छैन। तर, गोर्खाली अन्धराष्ट्रवादी शत्रुलाई टेवा पुर्याउने गरि वर्गीय एवं सामुदायिक रुपमा पहिचान विरोधी प्रवक्ताको हर्कत नगरि दिन (दु:खकासाथ) गम्भीर आग्रह गर्दछु।
अन्त्यमा, समाजवादी निर्वाचन प्रणालीको आधारमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यव्यवस्था निर्माणबाट विध्यमान दु:खको कारण निवारण गर्न सकिने दृढ विस्वास तथा लालसलाम (क्रान्तिकारी शान्ति) को सेवारोसहित!
(गोपाल किराती)
संरक्षक
माओवादी कम्युनिस्ट पार्टी, नेपाल







प्रतिक्रिया लेख्नुहोस्