२०८३ जेष्ठ ४, सोमवार

संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन्: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृत भाषा नेपालमा केवल भाषा नभई शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार भएको दावी गरे । उनले नेपालका हिमाल, नदी, पहाड र हावापानी स्वयं साधकहरूलाई प्रेरणा दिने तत्व भएको उल्लेख गर्दै नेपालको हावा, पहाड, नदी, हिमाललगायत सम्पूर्ण वातावरण साधनाको ऊर्जा दिने खालको भएको बताए ।
सम्मेलनमा विश्वका २० भन्दा बढी विश्वविद्यालयका कुलपति तथा उपकुलपति, तथा विविध शास्त्रका ज्ञाताहरूको सहभागिता उल्लेखनीय भएको बताउँदै मन्त्री पाण्डेले यस सम्मेलनलाई पूर्वीय ज्ञान र वैदिक चिन्तनको ‘महाकुम्भ’ को संज्ञा दिए ।

उनले पशुपतिनाथ, लुम्बिनी, गण्डकी नदी र जनकपुरलाई तीर्थस्थलका रूपमा स्मरण गर्दै नेपालमा आज पनि वैदिक संस्कार र संस्कृतिको दिव्य अनुभूति पाउन सकिने बताए । नेपालका सांस्कृतिक धरोहरहरू र वैदिक परम्पराको ऐतिहासिक गाथा प्रस्तुत गर्दै मन्त्री पाण्डेले पाणिनि, कपिलमुनि, वेदव्यास, वाल्मीकि, राजर्षि जनक, याज्ञवल्क्य र भगवान गौतम बुद्धजस्ता महापुरुषहरूका योगदान स्मरण गरे ।

उनले यो भूमि पुनः वैदिक वातावरण सिर्जनाको बाटोमा अघि बढिरहेको बताउँदै त्यस कार्यमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया लेख्नुहोस्