२०८३ बैशाख १९, शनिबार

लागुऔषधसहित दुई जना पक्राउ

बाराबाट काठमाडौं ल्याउन लागिएको लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषध ७५० एम्पुलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–१ का २७ वर्षीय कृष्ण यादव र सप्तरीको सखुवा गाउँपालिका–४ का १९ वर्षीय दिपेश कुमार राम रहेका छन् । उनीहरूमध्ये यादवको साथबाट ४५० एम्पुल र रामको साथबाट ३०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ । बाराबाट काठमाडौं आउँदै गरेको प्रदेश २–०३–००१ख ३६२२ नम्बरको यात्रुबाहक बस र प्रदेश १–००५–००१ख००६५ नम्बरको यात्रुबाहक बसमा दुई जना काठमाडौं आइरहेका थिए ।

सोही क्रममा प्रहरीले चेकजाच गर्दा झोलामा लुकाइ-छिपाइ राखेको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्