२०८३ असार १२, शुक्रबार

जिप दुर्घटनामा १ को मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । घाइते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्रहरीले जनाएको छ ।

जिपमा ७ जना यात्रु सवार रहेका थिए । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट करीब ४० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्