युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्दीवासीको उद्धार गरी पोल्यान्डमा लगिएको छ । रुस र युक्रेनबीचको युद्धमा चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्दीवासीको उद्धार गरी पोल्यान्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारीअनुसार युद्ध प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुमा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका –७ बिमका तिलक सुनार र बेनी –३ भकिम्लीका नारायण पुन रहनुभएको छ । उहाँहरुलाई पोल्यान्डमा रहेका नेपाली सङ्घ संस्थामार्फत उद्धार गरिएको जनाइएको छ । अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तव्यमा पुगिसकेको भए पनि भकिम्लीका पुन पोल्यान्डको सीमा क्षेत्रमा नै रहनुभएको छ । “उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ, बिरामी हुनुहुन्छ, त्रसित भएजस्तै गर्नुभएको छ,” अध्यक्ष परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
पोल्यान्डमा रहेको नेपाली सङ्घसंस्था सीमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको उनले बताए । पासपोर्टमा भकिम्ली लेखिए पनि पुनले आफू बरञ्जा भएको बताउने गरेकाले उद्धारका क्रममा समस्या भएको उनको भनाइ छ ।
नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्यान्डका सभापति भीम परियारले उद्धारको क्रम जारी रहेको बताए । “म्याग्देलीको पहिचानमा जुटेका छौँ, भीडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि सङ्ख्या बढ्ने देखिएको छ,” उनले भने । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्कमार्फत उद्धारमा जुटेका छन् ।
उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिनसहित स्वास्थ्य चेकजाँचसहितको सुविधा रहेको बताइएको छ । युक्रेन छोडेर नेपालीहरु पोल्यान्डबाहेक स्लोभाकिया, हङ्गेरी, रोमानियाम र माल्डावामा समेत पुगेका सभापति परियारले जानकारी दिए।







प्रतिक्रिया लेख्नुहोस्