२०८३ असार ५, शुक्रबार

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको जानकारी गराएका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?

अब्दुल्लाह गत चैत २२ गते नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक भएका थिए । नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने अठोटका साथ मैदानमा ओर्लिएका अब्दुल्लाहले घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि जितेको टोलीमा १३ खेलाडी परिवर्तन गरेका थिए । उनको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप र एसिया कप छनोटका बाँकी तीन खेल खेलेको थियो ।

युवा खेलाडीलाई विशेष स्थान र महत्व दिएका अब्दुल्लाहले नेपाललाई एसिया कपसम्म पुर्‍याउने र साफ च्याम्पियन बनाउने प्रमुख लक्ष्य रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्