२०८३ कार्तिक १३, बिहिबार

आज एनपीएलमा दुई खेल, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्। पहिलो खेलमा पराजित जनकपुर र विराटनगर जितको खोजीमा छन् भने कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मध्याह्न १२ः३० बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। पहिलो संस्करणको विजेता जनकपुर आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। जनकपुरले कात्तिक १० गते भएको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो।

काठमाडौं गोर्खाज भने यस सिजनको पहिलो खेल खेल्दैछ। गत संस्करणमा लिग चरणमा १० अंकसहित तेस्रो स्थानमा रहेको काठमाडौं एलिमिनेटरमा पुगेको थियो। तर साविक उपविजेता लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएपछि उसको यात्रा समाप्त भएको थियो।त्यसैले काठमाडौं यस सिजनको सुरुवात जितबाट गर्ने योजनामा हुनेछ भने जनकपुर प्रतियोगितामा आफ्नो जितको खाता खोल्न चाहन्छ।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। कर्णालीले कात्तिक १० गते भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। पहिलो खेलको लय कायम राख्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर कर्णालीसँग छ।

विराटनगर किंग्स भने पहिलो जितको खोजीमा हुनेछ। विराटनगरले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा फर्कने चुनौती विराटनगरसामु छ। आजका दुवै खेलले टोलीहरूको सुरुवाती लय र अंकतालिकामा स्थान बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्