२०७९ अशोज १०, सोमवार

पाकिस्तानमा बाढी: थप १५ जनाको मृत्यु

पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्ये एक शिशु र तीन जना महिला छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीजन्य घटनामा हालसम्म एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ । बाढीजन्य घटनामा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन् । देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार छ सय ३२ चौपाया मरेका छन् ।

बाढीले १२ हजार सात सय १६ किलोमिटर सडक र तीन सय ७४ वटा पुलमा क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्