२०८२ फाल्गुन ४, सोमवार

नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित, लगातार तीन हारपछि बाहिरियो

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो तेस्रो खेलमा नेपाल दुई पटकको विश्वविजेता वेस्ट इन्डिज सँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियम मा भएको खेलमा वेस्ट इन्डिजले नेपालले दिएको १३४ रनको लक्ष्य १५।२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो।

लगातार तीन जितसहित वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टोली बनेको छ भने लगातार तीन हार बेहोरेको नेपाल समूहबाट बाहिरिने दोस्रो टोली बनेको छ। नेपाल यसअघि इंग्ल्याण्ड र इटलीसँग पनि पराजित भएको थियो।

समूह ‘सी’ मा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा छ। दुई जित र एक हारबाट इंग्ल्याण्ड ४ अंकसहित दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड र इटली समान २ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। बाँकी खेलमा वेस्ट इन्डिज र इंग्ल्याण्डले इटलीसँग खेल्न बाँकी छ। इंग्ल्याण्डले इटलीलाई हराए सुपर एटमा पुग्नेछ भने इटलीलाई अघिल्लो चरणमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ। अंकविहीन नेपालले अब स्कटल्याण्डविरुद्ध प्रतिष्ठाको खेल खेल्नेछ।

वेस्ट इन्डिजको सहज जित

वेस्ट इन्डिजका कप्तान शाई होपले ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६१ रन बनाए। शिमरोन हेतमायरले ४३ बलमा ४ चौका र २ छक्कासहित अविजित ४६ रन जोडे। होप र हेतमायरले दोस्रो विकेटका लागि अविजित ९१ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। पहिलो विकेटका लागि होप र ब्रान्डन किङले ४३ रन जोडेका थिए। किङले १७ बलमा २२ रन बनाए। नेपालका लागि नन्दन यादवले १ विकेट लिए।

दीपेन्द्रको अर्धशतक

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो। कमजोर सुरुआतका बाबजुद उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको हो।

दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए। उनले १९औँ ओभरमा शामर जोसेफविरुद्ध छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए। उनी टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि सन् २०१४ को विश्वकपमा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए।

सोमपाल कामीले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोडे। दीपेन्द्र र सोमपालले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरे, जुननेपाली इनिङ्सको सर्वाधिक साझेदारी रह्यो।

नेपालले पावरप्लेमा ६ ओभरमा ३ विकेट गुमाएर मात्र २२ रन बनाएको थियो, जुन टी–२० विश्वकपमा नेपालको सबैभन्दा कम पावरप्ले स्कोर हो।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले समान १–१ विकेट लिए।

प्रतिक्रिया लेख्नुहोस्