खोज तथा उद्धारका क्रममा रसुवाका चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलबाट तीनजनाको शव फेला परेको छ। नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोको टनेलबाट दुई तथा अपर त्रिशूली–१ को टनेलबाट एकजनाको शव भेटिएको हो।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा हिलोमाटोले पुरिएको अवस्थामा दुईवटा शव फेला पारेको सेनाले जनाएको छ।
त्यस्तै, अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा पनि खोज तथा उद्धार टोली करिब ३०० मिटरसम्म प्रवेश गरेको थियो। सोही क्रममा टनेलभित्र एकजनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार दुवै आयोजनाका टनेलमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि संयुक्त टोली परिचालन गरिएको छ। घटनापछि टनेलभित्र उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।
खोज तथा उद्धारका क्रममा थप विवरण प्राप्त हुने क्रम जारी रहेको सेनाले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्