नेपालको बैंकिङ इतिहासमा नबिल बैंक लिमिटेडको छुट्टै पहिचान छ । निजी क्षेत्रबाट वाणिज्य बैंकिङ सेवा सुरु गर्ने पहिलो बैंकका रूपमा स्थापित नबिलले चार दशकभन्दा लामो समयदेखि नेपाली बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति कायम राख्दै आएको छ ।
नबिल बैंकको स्थापना २०४१ सालमा ‘नेपाल अरब बैंक लिमिटेड’ का नामबाट भएको थियो । यो नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । सुरुवाती चरणमा बैंकमा दुबई बैंक लिमिटेडको संयुक्त लगानी रहेको थियो ।
पछि संयुक्त अरब इमिरेट्सका लगानीकर्ता बाहिरिएसँगै बैंकको बहुमत स्वामित्व नेपाली लगानीकर्ता चौधरी समूहमा आएको थियो । त्यसपछि बैंकको नाम परिवर्तन गरी ‘नबिल बैंक लिमिटेड’ राखिएको हो ।
नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग र आधुनिक सेवा विस्तारमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । परम्परागत ढड्डा प्रणालीलाई विस्थापित गर्दै कम्प्युटर प्रणालीबाट बैंकिङ सेवा प्रदान गर्ने अभ्यासलाई अघि बढाएको बैंकले क्रेडिट कार्ड, एटीएम र डेबिट कार्डजस्ता आधुनिक बैंकिङ सुविधासमेत नेपालमा भित्र्याउन नेतृत्व गरेको थियो ।
समयसँगै आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकका अनुसार हाल करिब ३० लाख ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
स्थापनाकालदेखि नै आधुनिक बैंकिङ सेवा, प्रविधिको प्रयोग र सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको नबिल बैंक अहिले नेपालको बैंकिङ क्षेत्रको स्थापित संस्थाका रूपमा परिचित छ ।







प्रतिक्रिया लेख्नुहोस्