२०८३ मंसिर २, मङ्लबार

जुनसुकै समयमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्छ, तयार रहनुहोस् : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको बताएका हुन् ।

उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे ।

सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै अध्यक्ष ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताए ।

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको स्मरण गरे ।

प्रतिक्रिया लेख्नुहोस्