विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति वरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन् ।
अधिकारीले दावी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६ सय रुपैयाँ बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरे । उक्त कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी, अभिनेत्री पुजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो । विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याईएको थियो ।
यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो । बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भईसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरि प्रसाद रिमाल, लेखकरनिर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम प्रारम्भ हुनु अगावै निधन भईसकेको थियो ।
चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार रुपैयाँ र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजार रूपैयाँसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दावी गर्न अनुरोध गरे बीमा गरेको ६,७ महिनामा बल्ल एक जनाले दावी गर्नुभएको बताउँदै भण्डारीले थोरै नै रकम भएपनि दावी पेश गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने बताए । बीमा रकम प्राप्त गर्दै कलाकार अधिकारीले चलचित्र विकास बोर्डलाई धन्यवाद व्यक्त गरे । चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकुन्’, चेक बुझ्दै अधिकारीले भने – ‘हाम्रो दुख बुझ्ने कलाकार नै अध्यक्षको रुपमा आउनुभएको छ । हामीलाई अझै धेरै भरोषा पलाएको छ ।’
बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भएपनि यो एउटा सुरुवात भएको बताए । उनले भने – ‘सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन । यति रकमले त केहि पनि हुँदैन, यद्यपि यो एउटा सुरुवात हो । यो भन्दा ठुला घटना भईहाले पनि त्यसमा केहि गर्न सकौँ भनेर बोर्ड सँधै संवेदनशिल छ ।’
अध्यक्ष केसीले राष्ट्रिय बीमा कम्पनीलाई पनि धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्