विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने सिनेमा ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । झरना थापाले निर्देशन गर्ने सिनेमा छायांकनमा जान लामो समय लाग्यो । अन्ततः शुक्रबार जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण पक्षले छायांकन सुरु गर्यो ।
जनकपुरपछि सिनेमाको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ । प्रेमकथामा आधारित रहने सिनेमामा धिरज र सुहानाको जोडी बाँधिनेछ । पहिलो पटक स्क्रिन शेयर गर्न लागेको यो जोडीलाई लिएर दर्शक उत्साहित छन् ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सुनिल कुमार थापाको निर्माण रहनेछ । संजय लामाले खिच्ने सिनेमामा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।
त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यका बाहिर र काव्या फिल्म्सले काठमाडौंमा यो सिनेमा वितरण गर्ने छन् । निर्देशक थापाले यसअघि ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्देशन गरिसकेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्