विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ अनुसार नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अघिल्लो गणनाको तुलनामा बाघको संख्या ७४ ले वृद्धि भएको हो। यसअघि सन् २०२२ (वि.सं. २०७८) मा गरिएको गणनामा नेपालमा ३५५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।
पछिल्लो सर्वेक्षणअनुसार चितवन राष्ट्रिय निकुञ्ज बाघको सबैभन्दा ठूलो बासस्थानका रूपमा कायम रहेको छ। चितवनमा बाघको संख्या १२८ बाट बढेर १४५ पुगेको छ। अन्य निकुञ्जमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ बाट ७१, बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट ५१ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट ५० पुगेको विभागले जनाएको छ।
तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या घटेको छ। अघिल्लो गणनामा १२५ रहेको बाघको संख्या यसपटक १३ वटाले घटेर ११२ मा सीमित भएको छ। विभागका अनुसार बाघको संख्या बढे पनि वृद्धिदर अघिल्लो अवधिको तुलनामा कम भएको छ।
सन् २०१८ (वि.सं. २०७५) को गणनामा नेपालमा २३५ वटा बाघ रहेका थिए। त्यसपछि २०२२ सम्मको अवधिमा १२० वटा (करिब ५१ प्रतिशत) ले वृद्धि भएको थियो। तर, पछिल्लो सर्वेक्षणमा बाघको संख्या २१ प्रतिशत मात्र बढेको प्रतिवेदनले देखाएको छ। यसपटकको राष्ट्रिय बाघ सर्वेक्षणमा अत्याधुनिक क्यामरा ट्रयापिङ प्रविधि प्रयोग गरिएको थियो। सर्वेक्षणका क्रममा ३७३ वटा फरक–फरक बाघको पहिचान गरिएको थियो। त्यसका आधारमा वैज्ञानिक Spatially Explicit Capture–Recapture (SECR) विधि प्रयोग गरी देशभर बाघको अनुमानित संख्या ४२९ निर्धारण गरिएको विभागले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले बाघको संख्या बढ्नु संरक्षण अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार अब बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थानको गुणस्तर सुधार तथा बाघका आहारा प्रजातिको संरक्षण मुख्य चुनौती बनेका छन्।
विभागले आगामी दिनमा ‘शून्य मानव क्षति’ को अवधारणालाई कार्यान्वयन गर्दै बाघको व्यवस्थापन, संरक्षण र मानव–बाघ सहअस्तित्वलाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्