विदेशबाट मगाएर सुन संकलन गर्ने एक जना पक्राउ परेका छन् । विदेशबाट मगाएर सुन संकलन गर्ने एकजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेको हो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारुलाई विराटनगर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपीले जानकारी दिएका छन् । सौर्य एयरलाइन्सको उडानबाट विराटनगर जान लागेका टेकबहादुरको साथबाट प्रहरीले १ सय ग्राम तौल भएको दुईवटा सुनका बाला बरामद गरेको छ ।
सो बाला उनलाई विदेशबाट सुन तस्करीमा संलग्न एजेन्टले पठाएका थिए । विदेशमा काम गर्ने नेपाली नागरिक स्वदेशमा फर्किँदा सुनको काम गर्नेहरुले बाला आकारको काँचो सुन पठाएर विमानस्थलमा संकलन गर्ने गरेका छन् । सरकारले ५० ग्राम बराबरको सुनका गहना ल्याउन छुट दिएको छ ।
सारु मगरले विदेशबाट आफ्ना एजेन्टले पठाएको सुनका बाला विमानस्थलमा संलकन गरेर आफ्नो समूहको सम्पर्कमा रहेका ग्राहकलाई पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनलाई आवश्यक कारवाहीका लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसएसपीले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्