२०८३ बैशाख १४, सोमवार

मधेस कांग्रेसको जन्मभूमि हो, हामी जेठो छोरा हौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसलाई कांग्रेसको जन्मभूमि बताउँदै कांग्रेस मधेसको “जेठो छोरा” भएको दाबी गरेका छन्। बुधबार सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई बनाउने, सम्हाल्ने, हुर्काउने र बलियो बनाउने काम मधेसकै भूमिले गरेको बताएका हुन् ।

थापाले कांग्रेसले अतीतमा केही गल्ती र कमजोरी गरेको स्वीकार गर्दै ती गल्ती सुधार्ने संकल्पसहित आफू मधेस आएको बताए। ‘मधेसले कांग्रेसलाई सधैं न्याय गर्‍यो। तर कांग्रेसले मधेसलाई न्याय गर्ने क्रममा केही गल्ती र भुलचुक भएकै छन्,’ उनले भने।

उनले विशेषगरी सम्मान, प्रतिनिधित्व, न्याय र अधिकारका सवालमा कांग्रेसले पर्याप्त सम्बोधन गर्न नसक्दा नयाँ र मधेसकेन्द्रित दल उदाएको तर्क गरे। ‘म कसैलाई दोष दिन चाहन्न । तर कांग्रेसले मधेसलाई आफ्नै जननी, आमाजस्तै ठान्नुपर्थ्यो। हामी यसको जेठो छोरा हौं, यसको सेवाको जिम्मेवारी हाम्रो हो’, उनले भने ।

अब त्यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै थापाले मधेसप्रति न्याय, सम्मान र अधिकार सुनिश्चित गर्ने दिशामा कांग्रेस अघि बढ्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्