२०८३ साउन १४, बिहिबार

सरकारको मूल्यांकन गर्ने बेला भएको छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबारे समीक्षा गर्ने समय अझै नभएको बताएका छन्। उनले सरकार आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै अहिले नै निष्कर्षमा पुग्न नहुने धारणा व्यक्त गरेका हुन्।

देवानगञ्ज घटनापछि आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे। “प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ। अहिले नै हामी समीक्षाको बिन्दुमा पुगेका छैनौँ। उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,” उनले भने।

सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले उक्त बैठक सरकारको नभई राजनीतिक दलका शीर्ष नेताहरूबीचको भएको स्पष्ट पारे।

उनले “यो बैठक नितान्त दलका शीर्ष नेताहरूको बैठक हो। यसमा सरकारको प्रतिनिधित्व स्वर्णिम वाग्लेबाट भएको छ। हामी सबै दलले जिम्मेवार ढंगबाट सद्भाव र शान्ति कायम गर्न अपिल गरेका छौँ। अप्ठेरो परिस्थितिमा मुलुकलाई निकास चाहिएको अवस्थामा सर्वपक्षीय पहल, सहकार्य र समझदारी खोज्ने राजनीतिक संस्कारका पक्षमा रास्वपासहित अन्य दल एकै ठाउँमा छौँ,” भने।

लामिछानेले देवानगञ्ज घटनाको प्रारम्भिक चरणमै सरकारको भूमिकाबारे निष्कर्ष निकाल्न नहुने पनि बताए। उनले सरकारले आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्दै घटनालाई जिम्मेवारीपूर्वक सम्बोधन गरिने अपेक्षा रहेको उल्लेख गरे।

प्रतिक्रिया लेख्नुहोस्