प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन्। साथै, घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। छानबिन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास व्यक्त गर्दै उनले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई तत्काल घटनास्थलमा परिचालन गरिएको बताए।
उनले गृहमन्त्री स्वयं घटनास्थल पुगेर स्थानीय अवस्थाको अनुगमन गरिरहेको र शान्ति सुरक्षा सुदृढीकरणका लागि आवश्यक पहल भइरहेको जानकारी दिए। साथै, राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरिएको र आवश्यक निर्णयहरू गरिएको उनले बताए। परिस्थितिलाई सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको तथा स्थानीय तहमा निरन्तर संवाद भइरहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, असत्य सूचना तथा घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न सबैलाई आग्रह गरे। उनले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न अपिल गर्दै नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गरे।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र विभाजनलाई स्वीकार नगर्ने बताए। कुनै एक स्थानमा भएको घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषारोपण गर्ने वा देशभर प्रतिशोधको वातावरण सिर्जना गर्ने कार्य उचित नहुने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। साथै, उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई धैर्य, संयमता र जिम्मेवारीका साथ शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्