नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक परे विदेशी विज्ञको सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।
आइतबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफलमा थापाले स्वदेशी विज्ञताले मात्र उद्धार सम्भव नहुने अवस्था देखिएपछि आफूले परराष्ट्रमन्त्रीसँग विदेशी सहयोग लिन आग्रह गरेको बताए।
बाढी, पहिरो र डुबानजस्ता विपद्मा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय कांग्रेसले गरेको छ। थापाले उद्धार तथा राहतमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोग भएको बताए।
उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भन्दै संघीय सरकारले स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए।
मुलुक शोकमा रहेका बेला पार्टीका तर्फबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न पनि उनले निर्देशन दिएका छन्। सोमबारदेखि थापा नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिने भएको छ।







प्रतिक्रिया लेख्नुहोस्