२०८३ भदौ ३१, बुधबार

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले किन रद्द गरे कोरिया भ्रमण ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन् ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा उद्धार तथा खोजी कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने भएकाले भ्रमण रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित बनाउने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गरेका हुन् ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘विश्वव्यापी पूर्वाधार सहकार्य सम्मेलन २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।

उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्